टुकुचा खोला अतिक्रमणमुक्त गरि करिडोर बनाउने महानगरको योजना

'६ अर्ब बजेट छुट्टायो, भवन हटाउन चुनौती'

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ। बिहीबार महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थित जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला भेटिएको हो।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खनन्‌को माग गर्दै आएका थिए। टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो।

जय नेपाल हलको कम्पाउन्डमा करिब १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको थियो। यो घटनाले काठमाडौंका नदी–खोलालाई कसरी अवशेषधरि नरहने गरी अतिक्रमण गरिएको रहेछ भन्ने छर्लंग हुन्छ।

यसअघि २४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन ।

२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।

टुकुचाको खोजीको विषय पटक–पटक उठ्दा पनि बीचमै सेलाउँदै आएको थियो । यसो हुनुको प्रमुख कारण थियो जय नेपाल हलदेखि काठमाडौं मलसम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला–ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् । टुुकचा खोज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्व पछि हट्दै आएको थियो ।

हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको कुरा धेरैलाई थाहा नै थियो । तर, यति ठूला– ठूला कुन भवनको मुनि कुन भागबाट कस्तो अवस्थामा खोला बगिरहेको छ भन्ने कुरा खोजी नै भएन ।

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन दियो । उक्त निर्देशनको पालना नभएपछि महानगरको टोली आफै संरचना हटाउन र टुकुचा खोला खोज्न निस्कीएको छ ।

दशकौ अघि हराएको टुकुचा खोला कसरी गायब भयो भन्नेबारे सरकार, महानगर र नापी विभाग अनभिज्ञ छ । खोलामाथिको जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता छन् । उनीहरुसँग लालपूर्जा छ । यसले गर्दा खोलाको जग्गा फिर्ता गर्न कानुनी जटिलता थपिएको छ ।

मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा अतिक्रमणमुक्त गर्न र दायाँबायाँ करिडोर बनाउन महानगरले ६ अर्ब रूपैयाँको बजेट छुट्टयाएको जानकारी दिएका छन्। टुकुचामा पानी बग्न चार मिटर छाडिनेछ भने दायाँबायाँ चार–चार मिटरको करिडोर बन्नेछ। यो काम पाँच वर्षभित्र पूरा गर्ने उद्देश्य रहेको उनले बताए। महानगरको यो योजना पूरा गर्न सजिलो भने छैन।

काठमाडौंको घना बस्तीको बीचबाट बग्ने पाँच किलोमिटर लामो यो खोला धेरै कम ठाउँमा मात्र दुरूस्त छ। अधिकांश ठाउँमा खोलाको साँध दायाँ र बायाँ दुवैतिरबाट नराम्ररी मिचिएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारप्राप्त एकीकृत बागमती सभ्यता विकास समितिले दुई वर्षअघि टुकुचा खोलाको करिडोर व्यवस्थापनका लागि पूर्वसम्भाव्यता अध्ययन गराएको थियो। बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको उक्त पूर्वसम्भाव्यता प्रतिवेदन हेर्ने हो भने टुकुचा खोलाको दारूण अवस्था छर्लंग हुन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार