नागरिकता विधेयक प्रमाणीकरण नभए देश दुर्भाग्यपूर्ण अवस्थामा जान्छ : त्रिपाठी

काठमाडौँ – जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुको विकल्प नभएको बताएका छन्।

संघीय संसद्को दुवै सदनले दोस्रोपटक पारित गरी पठाएको सो विधेयक संविधान र संसदीय सर्वोच्चताको मान्यताको आधारमा पनि राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको उनको तर्क छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै त्रिपाठीले नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयनका लागि औजारको रूपमा आएको सो विधेयक राष्ट्रपतिबाट दोस्रोपटक पनि प्रमाणीकरण नभए मुलुकमा दुर्भाग्यपूर्ण अवस्था आउने चेतावनी दिए।

‘त्यो विषय (नागरिकता विधेयक) लाई लिएर देशमा अहिले जुन राजनीतिक विभाजन वा राजनीतीकरण गर्न खोजिएको छ, त्यो दुर्भाग्यपूर्ण हो। त्यस विधेयकमा अरू केही पनि छैन। जम्माजम्मी जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्ने भनेर हाम्रो संविधानको व्यवस्था धारा ११ को उपधारा ३ अनुसार व्यवस्था मात्रै गरिएको छ। र, अर्को गैरआवासीय नेपालीको सन्दर्भमा गरिएको व्यवस्था छ, जो हाम्रो संवैधानिक व्यवस्था नै हो,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार