एमाले जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचनमा जाँदै

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचन जाने बताए। प्रेस चौतारी नेपाल दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनसरोकारका विशेषतः चारवटा मुद्दा हुने र ती मुद्दा लिएर एमाले आउने मंसिर ४ को निर्वाचनमा जाने उनको भनाई थियो।

उनले भने, ‘पहिलो मुद्दा स्वाधीनता, स्वाभिमान र राष्ट्रहितको प्रश्न हो। त्यसपछि विकास र समृद्धिको मुद्दा , तेस्रोमा सामाजिक सुरक्षासहित लोक कल्याणकारी राज्य निर्माण र चौथोमा अब नेपाललाई कुन बाटो अगाडि बढाउने भन्ने मुद्दा हो।’

उनले यी चार मुद्दामा एमालेले अन्य पार्टी भन्दा अग्रणी भूमिका खेलेको पनि बताए। जसले गर्दा जनताले एमालेलाई भोट दिने उनको जिकिर छ।

यस्तै उनले पहिलो मुद्दामा एमालेले नेपालमा जातीय राज्य स्थापना गर्न नदिएको, नाकाबन्दीको सामना गरेको र नेपालको गुमेको भू–भाग नक्सामा समावेश गर्न संविधान नै संशोधन गरेको दाबी गरे। यस्तै दोस्रोमा समृद्धि जमिनबाट मात्र होइन, आकाश र समुद्र पनि हो भन्ने कुरालाई स्थापित गर्न, सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्तादेखि रोजगारसम्मको कुराको व्यवस्था एमालेले गरेको पोखरेलको भनाई छ।

उनले एमाले अन्य पार्टीभन्दा एकताबद्ध र स्पष्ट रुपमा अगाडि बढेको बताए। साथै पोखरेलले आउने मंसिर ४ गतेको निर्वाचन यथास्थितिवादी र परिवर्तनवादी शक्तिबीच हुने पनि बताए। यथास्थितिवादीमा गठबन्धन दलहरु र एमाले भने परिवर्तनकारी शक्ति रहेको उनले बताए। उनले कांग्रेसले नीतिगत शक्ति गुमाएर अन्य साना दलसँग गठबन्धन गरेको पनि आरोप लगाए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार