वैदेशिक रोजगारीमा ठगी धन्दा व्यापक छ : श्रममन्त्री कुँवर

काठमाडाैँ- श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रमिकका गुनासो सुन्ने क्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीमा ठगी धन्दा व्यापक रहेको बताए ।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताए । मेन पावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाही गर्न समस्या भएको बताए । श्रमिकलाई मेनपावर व्यवसायीले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गरे ।

उनले ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तर्गत ९ जना श्रमिकसँग कुरा गरेका छन् । कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर मेन पावरले ठगेको, साउदीमा भने जस्तो काम नदिएर समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासाहरू राखेका थिए । जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीमा ठगीका गुनासोहरू बढ्दो क्रममा रहेको बताए ।

श्रमिकका समस्या सम्बोधन गर्न सरकार निरन्तर क्रियाशिल रहेको उनको भनाई थियो । मन्त्री कुँवरले अहिलेसम्म तीन हप्ता श्रमिकका गुनासो सुनेका छन् । तीन हप्तामा मन्त्री कुँवरसँग २९ जना श्रमिकले आफ्ना गुनासा राखेका छन् । श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासोहरू वैदेशिक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गरे ।

श्रमिकसँग श्रममन्त्री कार्यक्रममा हरेक हप्ताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार