पशुपतिमा श्राद्ध गर्नेको भिड

काठमाडौँ – असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष सुरु भएको छ । यसअघि प्रथम वार्षिक श्राद्धगरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो अवधिलाई सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

आजबाट काठमाडौँ उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वरलगायत मन्दिर नजिकका नदी किनारमा श्राद्ध गर्नेहरूको बिहानैदेखि भिड लागेको छ। काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर (वागमती नदी किनार) मा पनि श्राद्ध गर्नेहरूको भिड रहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार