जनताको आकांक्षा अनुसार विकास हुनुपर्छ : मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकांक्षा अनुसारको विकासले नै दिगो हुने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताएकी छन् ।

ललितपुर महानगर–२२, महर्जन समाजको २५ औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, ‘जनता सहभागी नभएको विकास सफल हुदैन, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।’

आफूले बुङ्गमतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल लिएको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन् । नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीब्रताका साथ अगाडि बढाएको बताएकी भुसालले आगामी दिनमा स्थानीय जनताको गुणस्तर सुधार्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कला, संस्कृतिको संरक्षण गर्ने र बुङ्गमतीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफ्नो ध्येय रहेको उल्लेख गर्दै भुसालले भनिन्, ‘बुङ्मतिका हरेक घरमा एक कोठा घरबास०का लागि छुट्याउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका समाग्री बेजेर अर्थोपार्जन गर्नुपर्छ ।’

बुङ्मतिका कला संस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । ‘यहाँको जनताको आर्थिक अवस्था माथि उठाउनका सिङ्गो बुङ्मतिलाई एकताबद्ध गरौँ, सहिष्णु बनौँ’, भुसालको भनाइ छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार