फेसबुकमा लाइभ गरी दुई जनाको हत्या

वासिङटन – अमेरिकामा फेसबुकमा लाइभ गरी गोली प्रहार गर्दा दुईजनाको मृत्यु भएको छ। साथै कैयौं व्यक्ति घाइते भएका छन्।

बन्दुकधारीले एक अटोपार्ट्स पसलमा प्रवेश गरी धेरै ग्राहकलाई गोली हाने। पसलमा प्रवेश गर्नुअघि उनले लाइभ गर्दै ‘यो मजाक होइन’ भनेका थिए। प्रहरीले गोली प्रहार गर्ने व्यक्ति १९ वर्षीय इजेकिल केली भएको बताएको छ। घटना टेनेसी राज्यको मेम्फिसको हो।

प्रहरी विभागका प्रवक्ता मेजर करेन रुडोल्फले भने‚ ‘उनको उद्देश्य के थियो भन्ने हामीलाई अझै थाहा छैन। उनले गोली प्रहार गरेका हुन् भन्ने हामीलाई मात्र थाहा छ।’ कति जना घाइते भएका छन् भन्ने पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन। घटनापछि उक्त शहरका बासिन्दालाई प्रहरीले घरभित्रै बस्न चेतावनी दिएको थियो। खतराको आशंका गर्दै शहरमा सबै बस तथा यातायात सेवा बन्द गरिएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार