आइफोन १४ नेपाल आउने अनिश्चित

एप्पलले आईफोनको नयाँ सिरिज आईफोन १४ र आइफोन १४ प्लसलगायत नयाँ भर्सनहरू सार्वजनिक गरेको छ । बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच सार्वजनिक गरेका हुन् ।

कम्पनीले आइफोन १४, १४ प्लस, आइफोन १४ प्रो, प्रो म्याक्स, एयरपड्स प्रो, एप्पल वाच सिरिज एट,एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ।

स्टाइलिस डिजाइन, नयाँ फिचर, क्यामरादेखि भिडियोका लागि गेमचेन्जर मानिएको आइफोन १४ नेपालमा भने अहिले नै उपलब्ध हुने छैन् । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाखदेखि नै महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको छ।

पछिल्लो पटक तीन सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन आयातमा सरकारले प्रतिबन्ध लगाएपछि त्यसको सबैभन्दा ठूला धक्का नेपालमा एप्पललाई लागिरहेको छ।

एप्पलका सबै स्मार्टफोन सरकारको प्रतिबन्धको तारो बनेका छन् । सरकारले आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याएको छ।

जसका कारण उक्त मितिसम्म एप्पलले बुधबार सार्वजनिक गरेका आइफोन १४ का कुनै पनि मोडल नेपाल भित्रिने अवस्था छैन् ।

एप्पलका अनुसार आइफोन १४ प्रोको प्रि–अर्डर कम्पनीले भोलि अर्थात् सेप्टेम्बर ९ शुक्रबारबाट लिँदैछ। सेप्टेम्बर १६ बाट आइफोन १४ प्रो बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

आइफोन १४ र आइफोन १४ प्लसको प्रि(अर्डर पनि सेप्टेम्बर ९ बाटै खुल्दैछ। आइफोन १४ सेप्टेम्बर १६ बाट किन्न सकिने कम्पनीले जनाएको छ । आइफोन १४ प्लसको बिक्री भने अक्टोबर ७ बाट हुनेछ।

तर नेपालमा भने आइफोन १४ अहिले उपलब्ध हुने सम्भावना छैन् ।

सार्वजनिक भए आइफोन १४ का मोडलहरुको कति पर्छ मूल्य ?

आइफोन १४ र १४ प्लस
आइफोन १४, ६ दशमलव १ इन्चको स्क्रिन र ६ दशमलव ७ इन्चको स्क्रिनसहितको आइफोन १४ प्लस बजारमा आएको छ । आइफोन १४ को मूल्य ७९९ डलरबाट सुरु हुनेछ । १४ प्लस मोडेलको मूल्य ८९९ डलरबाट सुरु हुनेछ ।

आइफोन १४ विभिन्न रंगहरूमा सार्वजनिक भएका छन् । आईफोन १४ र आईफोन १४ म्याक्स हरियो, गुलाबी, बैजनी, कालो, सेतो र रातो कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

आइफोन १४ प्रो र प्रो म्याक्स
आइफोन १४ प्रो ६.१ इन्च र प्रो म्याक्स ६.७ इन्चको डिस्प्लेसहित सार्वजनिक भएको छ । आइफोन १४ प्रोको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर र आइफोन १४ प्रो म्यासको सुरुवाती मूल्य १०९९ अमेरिकी डलर तोकिएको छ  ।

यी दुई मोडेलमा ए१६ बायोनिक चिप हुनेछ । आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा क्यामेराको भाग पहिलेको भन्दा बढेको छ । आईफोन १४ प्रो र १४ प्रो म्याक्स हरियो, बैजनी, ग्रेफाइट, सिल्भर र गोल्डेन कलरमा उपलब्ध हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार