युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

युनाइटेड सिमेन्ट्सले धुनिबेँसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ । गत बुधवारका दिन सोही नगरपालिका कार्यालयमा हस्तान्तरण समारोह सम्पन्न भएको हो । उक्त कार्यक्रममा धुनिबेसी नगरपालिकाका उप प्रमुख सुरज उप्रेती, वडा न. ९ का अध्यक्ष माधव प्रसाद सिलवाललगायत विभिन्न सङ्घ, संस्था तथा प्रहरी प्रशासनका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

कुनै पनि स्थानमा उद्योग स्थापना गरेपछि, त्यहाँको समाजसँग हातेमालो गर्दै अगाडी बढ्नुपर्ने हरेक संस्थाको प्रमुख दायित्व हुन्छ। उद्योग र समाज भनेको एउटै रथका दुइटा पाङ्ग्रा जस्तै हून। उद्योगलाई पनि समाजको साथ, सहयोगको आवश्यकता पर्छ भने उद्योगले पनि सामाजिक स्तरउन्नति, दिगो विकासका लागि सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रम गर्नुपर्ने हुन्छ।

सोही कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरूमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरिहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको कुरा ब्यक्त गरेका छन् । यसका साथै उनले त्यसै वडा कार्यालयको रोहबरमा परिचालन हुने गरी केही वर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको कुरा जानकारी गराएका छन् ।

त्यसै गरी विभिन्न सामुदायिक विद्यालयहरूमा शैक्षिक सामाग्री पनि हस्तान्तरण गरेको कुरा जानकारी गराउँदै त्यस क्षेत्रमा आर्थिक तथा सामाजिक विकासका निम्ति युनाइटेड सिमेन्ट्सको उल्लेखनीय भूमिका रहेको कुरा सोही कार्यक्रम मार्फत अवगत गराएका छन् ।

कार्यक्रममा वडा अधक्ष माधव सिलवालले युनाइटेड सिमेन्ट्सको यो कार्य एकदमै प्रशंसनीय रहेको कुरा बताए । एउटा घरमा यदि महिलाले सिप जानेकी छिन् भने, उनले सम्पूर्ण घरलाईनै आर्थिक तथा सामाजिक रूपमा व्यवस्थित गर्न सक्छिन् । कसैलाई सिप सिकाउन सहयोग गर्नु भनेको नै उसलाई दिगो आर्थिक विकास तथा स्तरोन्नतिको बाटो तर्फ लम्कन सिकाउनु हो भन्ने सबैको मान्यता रहेको कुरा सिलवालले ब्यक्त गरेका थिए ।

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुङ्गा खानी तथा धादिङमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले विगत ७ वर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । युनाइटेड सिमेन्ट्सले बहन गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्व यथासक्दो बहन गरेको अनि आउने दिनहरूमा पनि यसै समाजको तथा स्थानीयवासीको हितमा हुने विभिन्न क्रियाकलाप गर्दै जाने प्रतिबद्धता कम्पनीले जायर गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार