रकम लुटेर फरार भएका दुई जना पक्राउ

धनुषा – धनुषा जिल्ला प्रहरी कार्यालयले बैंकबाट निकालिएको रकम लुटेर फरार भएका दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६, निकाल निवासी भरोशी भन्ने राम नरेश यादव र सरोज दास रहेको प्रहरीले जनाएको छ ।

धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका राम दासले गत बुधबार सपही बजारस्थित मेगा बैंकबाट रकम झिकेर निस्किँदै गर्दा मोटरसाइकलमा सवार दुई जनाले उनको साथबाट १ लाख ८१ हजार रकम र मोबाइल लुटेर फरार भएका थिए ।

घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटिएको रकमसहित दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

पक्राउ परेका भरोशी भन्ने रामनरेश यादवको घर नजिकै खाल्डोमा गाडेको अवस्थामा १ लाख ७५ हजार र सरोज दासको साथबाट १५ सय रकम बरामद गरिएको प्रहरीको भनाइ छ । साथै घटनामा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको एसपी रजौरेले जनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार