रुसी नियन्त्रणमा रहेको बस्तीहरु युक्रेनको कब्जामा

काठमाडाैँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई सुखद समाचारूको संज्ञा दिएका छन्। जेलेन्स्कीले कुन ठाउँहरू पुनः आफूले कब्जा गरेको भन्नेबारे जानकारी दिएनन्।

उनले भने,’अहिले ती ठाउँहरूको नाम भन्ने सही समय होइन।’पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी दिएका छैनन्।

अमेरिकी अधिकारीहरूले भने युक्रेनले रुसी सेनाहरू विरुद्ध ‘विस्तारै तर अर्थपूर्ण प्रगति’ गरिरहेको बताएका छन्। राति प्रसारण भएको भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने,’मलाई लाग्छ कि हरेक नागरिकले हाम्रा सेना प्रति गर्व महसुस गर्छन्।’

सम्बोधनको क्रममा उनले विशिष्ट सैन्य एकाइहरूको नाम लिए र लडाइँमा उनीहरूले देखाएको बहादुरीको प्रशंसा गरे।युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ।

युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण-पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण सुरु गरेका छन्। ती क्षेत्रमा ६ महिना अघि युद्ध सुरु भएदेखि रुसले पर्याप्त सैन्य नियन्त्रण कायम राखेको छ।केही विवरणहरूका अनुसार युक्रेनी सेना इज्युम सहरबाट केही किलोमिटर टाढा हुन सक्छन्। उक्त सहर रुसको सैन्य आपूर्ति शृङ्खला जोड्ने महत्त्वपूर्ण स्थान हो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार