इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्ने बालेनकाे घाेषणा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन् । इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले त्यसका लागि विदेशी पाहुनाहरूलाई बोलाउन लागिएको जानकारी गराए । विदेशी पाहुनाहरूलाई स्थानीय सरकारको साथै संघ सरकारको तर्फबाट पनि बोलाइएको उनले बताए ।

८ दिनसम्म चल्ने इन्द्रजात्रा जात्रा पर्सी शुक्रबारदेखि सुरु हुन लागेको छ । काठमाडौं र यस आसपासका क्षेत्रमा लागि मात्रै नभएर देशैभर यसको महत्व फैलियोस् भन्ने चाहना रहेको उनले बताए ।

उनले भने– ‘हाम्रो देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदाहरू हुन् । हाम्रो देश पर्यटनको क्षेत्रमा धेरै अघि बढाउन सम्पदा संरक्षण गर्न सक्यौँ भने मात्र पनि हामीले पर्यटनलाई धेरै माथि लान सक्छौँ । हाम्रो राम्रो पक्ष के छ भने हाम्रा जात्रा पर्वहरू आफैँमा एउटा पूजाआजा मात्र नभएर मनोरञ्जनसँग पनि जोडिएको, उत्साह उमंगसँग पनि जोडिएकाले पनि त्यससँग पनि यसलाई जोड्दै जानुपर्छ ।’

उनले काठमाडौं भक्तपुर र ललितपुरमा रहेका जात्राहरूको छुट्टाछुट्टै महत्व रहेको बताउँदै सबैलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने उल्लेख गरे । यस्तै उपप्रमुख सुनिता डंगोलले ४० वटाभन्दा बढी गुठीहरूसँग सहकार्य गरेर इन्द्रजात्रा मनाउन लागेको जानकारी दिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार