नवौँ राष्ट्रिय खेलकुद : २२ खेल पोखरामा गर्न प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा संचालन गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय खेलकुदको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्बाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेपछि ठाउँ प्रस्ताव गरेको हो ।

प्रस्तावित खेलस्थलमा पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुष स्पर्धाका खेल पोखरामा सञ्चालन हुनेछन् ।

यसैगरी बास्केटबल तनहुँमा, बुद्धिचाल मनाङमा, आइटिएफ तेक्वान्दो म्याग्दीमा, फुलकन्ट्याक्ट कराँते स्याङ्जामा र फेन्सिङ पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको छ ।

महिला फुटबल स्याङ्जाको वालिङमा, तेक्वान्दो बागलुङमा, कराँते लमजुङमा, टेबलटेनिस मुस्ताङमा, कबड्डी, कुस्ती र खो खो नवलपुर तथा जुडो र सेपाकताक्रो गोरखामा खेलाउने प्रस्ताव यसअघिनै पठाइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
यसैगरी जिमन्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषको खेल पोखरामा प्रस्ताव गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार