नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधि सभामा त्यो विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेकी हुन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले हाम्रोजस्तो खुला सीमाना भएको देशमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताइन् ।

खुला सीमा भएको देशले जन्मको आधारमा र वैवाहिक नागरिकताको आधारमा विवाह गर्नेबित्तिकै नागरिकता दिन नहुने उनको अडान थियो । उपाध्यक्ष पौडेलले विवाहितका लागि अङ्गीकृत नागरिकता पाउन सात वर्ष कुनुपर्ने व्यवस्था गर्नुपर्ने पार्टीको अडान रहेको पनि स्पष्ट पारे ।

उपाध्यक्ष पौडेलले विवाह गरेलगत्तै अङ्गीकृत नागरिकता पाउने व्यवस्था विश्वमा कहीँ पनि नभएको दाबीसमेत गरीन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार