नेता भनेकाे क्रान्ति, समाज र राष्ट्रका निम्ति त्याग गर्न सक्ने हुनुपर्छ : प्रचण्ड

'व्यक्तिवादी र आत्मकेन्द्रित बन्न थालेकोमा चिन्तित'

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय नेताहरू व्यक्तिवादी र आत्मकेन्द्रित बन्न थालेको बताएका छन् ।

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रका केही नेता स्वार्थी भएको बताएका हुन् ।

उनले भने, ‘हामी अलिकति बिग्रेका छौँ । हामी हिजो जस्तो छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ, स्वार्थी भएका छौँ ।’

प्रचण्डले यो समस्यालाई हल गर्न सकिएन भने आफूहरू ‘क्रान्तिकारी हौँ’ भन्ने औचित्य समाप्त हुने बताए । क्रान्ति, समाज र राष्ट्रका निम्ति त्याग गर्नेतिर भन्दा पनि नेताहरू आफ्नै निम्ति कसरी गर्ने भनेर उद्धत हुन थालेको उनको भनाइ थियो ।

‘हामी सामूहिक भावना र टिम स्प्रीटबाट जानेभन्दा पनि स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेका छौँ,’ उनले थपे, ‘यसले पार्टीको वर्ग चरित्र र क्रान्तिकारी स्प्रीटमा नराम्रो स्खलन आएको छ । हामीले भर्खरै महाधिवेशन सम्पन्न गरेर फेरि क्रान्तिकारी पार्टी नै बनाउने संश्लेषण त गरेका छौँ तर हामी विचारमा, किताबमा, दस्तावेजमा र मुखमा क्रान्तिकारी नै भए पनि हाम्रो व्यवहार हाम्रो आचरण दैनिकी त्योसँग मिल्दैन । हाम्रो भनाइ र गराइमा ठूलो अन्तर आइसकेको महसुस हुन्छ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार