पाँच वर्षमा नेपालमा विद्युतको खपत तीन गुणाले बढ्यो : कुलमान घिसिङ

'प्राधिकरणको नाफा १६ अर्ब, भारतीय बजारमा नेपालको पहुँच'

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५ वर्षमा ३ गुणाले विद्युत खपत बढेको बताए ।

यस अवधिमा विद्युत खपत बढाउनका लागि धेरै ठाउँमा पूर्वाधार बनाइएको छ । ट्रान्समिसन लाइन र विद्युतीय सवारीको प्रयोग बढाउने विषय पनि उठाइएको छ । ‘प्रत्येक वर्ष २५ प्रतिशतसम्म खपत बढ्नु ऊर्जा क्षेत्रमा ठूलो प्रगति हो,’ उनले भने । वि.सं.२०४१ सालमा स्थापना भएको थियो ।

‘हिजो विद्युत प्राधिकरणमा घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने थियो । प्राधिकरणमा गर्ने कुनै पनि निर्णयको कार्यान्वयनमा आउँदैनथ्यो,’ उनले भने, ‘प्राधिकरणमा घाटामा हुँदा केही निर्णय हुँदा अख्तियार र संसदीय समितिबाट चिठ्ठी आउँथ्यो ।’

यसैगरी, गत आर्थिक वर्षमा प्राधिकरणको नाफा बढेर १६ अर्ब रुपैयाँ पुगेको छ । भारत सरकारबाट ३६४ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको छ । जसले प्राधिकरणको नाफालाई उल्लेख्य सहयोग गर्यो ।

‘यसले भारतीय बजारमा नेपालको पहुँच बढाएको छ,’ घिसिङले भने, ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै विदेशी मुद्रा सञ्चिति भइ राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ । आगामी वर्षहरूमा थप बिजुली निर्यात गर्ने लक्ष्य लिइएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार