प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति, सीसीएमसी खारेज

सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरेको छ ।

सरकारले बिहीबार जारी गरेको र शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेपछि लागु भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार अब २०७७ साल वैशाख १६ गते मन्त्रिपरिषद्ले गठन गरेको सीसीएमसी र सीसीएमसी निर्देशक समिति कोरोनाको रोकथाम र नियन्त्रण गर्न नयाँ कानुन आएसँगै निष्क्रिय भएको छ ।

अध्यादेशमा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीका अध्यक्षतामा १० सदस्यीय निर्देशक समितिसमेत गठन गरिने उल्लेख छ । समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ । निर्देशक समितिले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा सुरक्षा र आपूर्ति व्यवस्था तथा बाह्य सहयोगका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने सक्ने जनाइएको छ ।

सरकारले कोभिड–१९ लाई नियन्त्रण गर्न सबैभन्दा उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । उक्त समितिको गतिविधि स्वास्थ्य सामग्री खरिदलगायत विवादमा आएपछि पोखरेलकै नेतृत्वमा अन्य नौ मन्त्रीहरु सहितको सीसीएमसी निर्देशक समिति गठन गरिएको थियो । उक्त निर्देशक समितिले पनि काम गर्न नसकेको भन्दै लगातार आलोचना भएपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नयाँ संयन्त्रण गठन गरेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार