‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी

नेपालमा सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्दो छ । अस्पतालमा शय्या पाउन मुस्किल छ । अक्सिजनको अभाव पनि उस्तै छ । यस्तो विषम अवस्थामा पनि सहज उपलब्ध हुनसक्ने एउटा विकल्प रहेको डा. समर्थ सिंहको दावी छ ।

उनले सरकारले अनुमति दिएको खण्डमा नाकमा प्रयोग गरेर कोरोना नियन्त्रण गर्न सकिने खोप नेपालमै बनाउन सकिने जानकारी दिए । उनले भने – “संसारका खोप उत्पादक विभिन्न कम्पनीहरुले नाकमा प्रयोग गर्न सकिने खोपको बारेमा गरेको शोध तथा अनुसन्धानलाई निक्कै अगाडि पुर्‍याइसकेका छन् । केही कम्पनीको खोप त परीक्षणको क्रम मै छ । सरकारले अनुमति दिए आगामी ६ महिनाभित्र नेपालमा पनि यस्तो खोप बनाउन सकिन्छ ।”

डा. सिंहका अनुसार कोरोना भाइरसको लहर फैलिरहेको र एकाध वर्ष अझै यसका नयाँ नयाँ प्रजाति देखा पर्नसक्ने भएकाले नेपाल जस्ता कमजोर आर्थिक अवस्था भएका देशले ठूलो मूल्य तिरेर खोप खरिद गर्न पनि सक्दैनन् । त्यसकारण पनि कम लागतमा नाकमा प्रयोग गर्न मिल्ने खोप तयार पार्न जरुरी छ । त्यो काम गर्न सकिन्छ ।

कोरोना नाक र मुखबाट नै सर्ने भएकाले पनि त्यसलाई जहाँ सङ्क्रमण हुने हो, त्यहीँ नष्ट गर्ने उपाय उक्त खोपमा देखिन्छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले खोप निर्माता कम्पनी भारत बायोटेकलाई नाकमा राख्ने खोप विकास गर्न स्वीकृति दिएको छ ।
यस्तै, हङकङ विश्वविद्यालय तथा बेइजिङस्थित वोन्ताई बायो फार्मेसीले पनि ‘नेजल स्प्रे’को क्षेत्रमा काम गरिरहेका छन् । ती विश्वविद्यालयले दोस्रो चरणको परीक्षण गरिरहेका छन् ।

यस्तै, फिनल्याण्डको युनिभर्सिटी अफ हेलसिन्की र युनिभर्सिटी अफ फिनल्याण्डले प्रि–क्लिनिकल परीक्षण गरिरहेका छन् । युनिभर्सिटी अफ भर्जिनियाले पनि प्रि–क्लिनिकल परीक्षण थालेको छ ।

इजरायल र न्युजील्याण्डले त स्यानोटाइज नाम दिइएको नेजल स्प्रेलाई आन्तरिक प्रयोगका लागि अनुमति दिइसकेको छ । यो सन्दर्भमा हाम्रोमा पनि नाकमा प्रयोग गरिने खोप तयार गर्न सकिने र पेटेन्ट राइट समेत पाइने डा समर्थ सिंह बताउँछन् । उनले कोरोना भाइरसको एन्टिजेन किन्न सकिने र नेजल स्प्रे मार्फत् खोप राखेर प्रयोग गर्न सकिने जानकारी दिए ।

यस्तो खोपले तीनदेखि चार हप्तासम्म काम गर्ने अनुसन्धानबाट फेला परेको उनको भनाइ छ । मुख वा नाकमा पुगेको भाइरसलाई त्यही रोक्न वा कम गर्न सकियो भने सङ्क्रमण हुने मात्रा कम हुने भएकाले पनि यो सरल र सहज विधि भएको उनको भनाइ छ । हाल काठमाडौंको बयोधा अस्पतालमा न्यूरोलोजीको एचओडी समेत रहेका डा. सिंहले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समेत यसबारेको आफ्नो प्रस्ताव पेश गरिसकेका छन् ।

“हालसम्म कुनै जानकारी त प्राप्त भएको छैन, आशा छ हाम्रो प्रस्तावलाई सरकारले स्वीकार गर्छ । यो हामी जस्ता मुलुकका लागि ठूलो आशा र अपेक्षा समेत हो,” उनले भने ।

उनका अनुसार आइजिए न्यूट्रलाइज्ड हुने अवस्थाका कारण कोरोनाको भाइरस मानव शरीर भित्र छिर्न सक्दैन । यो बालबालिका तथा वृद्धवृद्धालाई समेत सहज रुपमा प्रयोग गर्न सकिन्छ ।

कुनै पनि प्रकारको निश्चित तापक्रम यसका लागि आवश्यक नपर्ने भएकाले पनि नेपाल जस्ता देशले पनि यसको विकास गर्न संभव भएको डा. सिंह बताउँछन् । उनका अनुसार एक दर्जनभन्दा बढी खोप उत्पादक कम्पनीले कोरोना विरुद्ध लड्ने यस प्रकारको खोप बनाइरहेका छन् ।

नेपालका नियामक निकायले आपत्कालीन अवस्थालाई ध्यानमा राखेर उक्त खोपका लागि अनुमति दिने विश्वास व्यक्त गर्दै डा. सिंह भन्छन् – “अनुमति पाएको केही समयभित्रै हामी काम शुरु गर्न सक्छौ्रं । यसका लागि कुनै पनि जटिलता र समस्या पर्ने छैन ।” भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारत बायोटेकले निर्माण गरिरहेको त्यस्तो खोप पहिलो चरणको परीक्षणमा छ ।

विवरणअनुसार १८ वर्षदेखि ६० वर्ष उमेर समूहका मानिसमा उक्त खोपको परीक्षण भइरहेको छ । भारतका विभिन्न अस्पतालमा अर्को चरणको परीक्षणको तयारी भइरहेको छ । त्यसमा एम्स पटना, एपोलो अस्पताल चेन्नई र सेन्ट थेरेसा अस्पताल हैदरावाद रहेका छन् । सन् २०२१ को नोभेम्बर ३० सम्ममा सबै परीक्षणको नतिजा आउने विश्वास लिइएको छ । परीक्षणमा सकारात्मक परिणाम हात परे भारत बायोटेकले ठूलो परिमाणमा नेजल भ्याक्सिन उत्पादन गर्ने जनाइएको छ ।

विज्ञहरुका अनुसार नेजल कोभिड खोपमा कुनै पनि प्रकारको सिरिञ्जको समेत जरुरत पर्दैन । अल्प विकसित तथा विकासोन्मुख देशका लागि कम मूल्यमै बन्ने यस्तो खोप विश्वव्यापी रुपमै ओसारपसारका लागि समेत सहज हुनेछ । कम तथा न्यून आय भएका देशका लागि यस प्रकारको खोप एउटा वरदान नै सावित हुने शोधमा संलग्न लानकास्टर विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता डा मुनिरको भनाइ छ । डा. समर्थ सिंह यसमा सहमति जनाउँदै भन्छन् – “महङ्गो मूल्य तिरेर खोप खरिद गर्न नसक्ने देशका लागि नेजल खोप नै उपयुक्त र सही छनोट हुन सक्छ ।”

शोधमा सहभागी भर्जिनिया विश्वविद्यालयका डा बिल पेट्रीका अनुसार यस प्रकारको खोपको खोजी गर्नु सजिलो र सरल छैन तर, परीक्षण सफलताउन्मुख छ । यो कम उमेरका बालबालिकामा समेत प्रयोग गर्न सकिन्छ । नाट्रिक अक्साइड नेजल स्प्रे जस्तै हङकङ विश्वविद्यालयले समेत यसमा खोज गरिरहेको छ । झण्डै सात हजार बिरामीमा यो खोपको परीक्षण भइरहेकै पनि छ ।

नेपालमा समेत कोरोनाको खोप उपलब्ध गराएको भारतकोे सिरम इन्स्टिच्यूटले समेत सोही प्रणालीमा आधारित खोपको पहिलो चरणको परीक्षण गरिरहेको छ ।

कोरोना भाइरस विशेष गरी नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्दछ । चिकित्सकहरुका अनुसार यो भाइरस एकाध दिन मुख वा घाँटीमा नै रहन्छ । नाकमा प्रयोग गरिने यो खोपले नाक वा मुखमा थुप्रिएको भाइरसलाई त्यही नै मारिदिन्छ र फोक्सोमा प्रवेश गर्न दिँदैन ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय पनि यस प्रकारको खोजमा संलग्न छ । चीन सरकारले त गत नोभेम्बरमा नै त्यस्तो खोपको परीक्षण शुरु गरिसकेको र त्यसका लागि १०० जना स्वयंसेवक नै परिचालन गरिसकेको छ ।

हाल प्रचलनमा रहेका अधिकांश खोपमा कोरोना भाइरसकै मृत सेलको प्रयोग गरिएको छ । यो सबै उमेर समूहका मानिसमा प्रयोग गर्न नसकिने मात्र हैन एउटा निश्चित तापक्रममा राख्नुपर्ने वाध्यता पनि छ ।

तर, नाकमा प्रयोग गरिने खोपमा भने यी र यस्ता झण्झट हुँदैनन् । विश्व स्वास्थ्य सङ्गठनले समेत परीक्षणका लागि अनुमति दिइसकेको र संसारका विभिन्न आठ कम्पनी तथा विश्वविद्यालयमा अनुसन्धान भइरहेको यस खोपको छिट्टै नतिजा आउने विश्वास लिइएको छ ।

डा समर्थ सिंहका विचारमा नेपालका नियामक निकायले अनुमति दिए यूरोपमा परीक्षण भइरहेको यस्तो प्रविधिलाई नेपालमा ल्याएर तत्कालै काम गर्न सकिने विश्वास व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार