सिट बाँडफाँटमा अपमान भए तालमेल हुँदैन : झलनाथ खनाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन्।

उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताए। प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मद्देनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए।

गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए। उनले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनैपनि वृहत वाम एकताको सम्भावना नरहेको दाबी गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार