संविधान संशोधनको गृहकार्यका लागि ५ सदस्यीय कार्यदल गठन

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको गृहकार्य गठन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको हो ।

शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरूसँग कुरा गर्दै सरकारले आफूहरुको माग सम्बोधन गर्ने क्रममा कार्यदल गठन र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको बताएका हुन् । नागरिकतासम्बन्धी अध्यादेशबारे भने सरकारका तर्फबाट केही भनाइ आएको छैन ।

उक्त कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् ।

मन्त्रिपरिषदबाट भएको निर्णयबारे आफूहरूलाई विस्तृत कार्यादेश आइनसकेको कार्यदल सदस्य अग्नि खरेलले जानकारी दिए ।

यसअघि बिहीबारै बसेको मन्त्रिपरिषद् बैठकले जसपाको मागबमोजिम जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुबै नेपाली भए वंशजका आधारमा नागरिकता लिन मिल्ने अध्यादेश ल्याएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार