भक्तपुरमा चार वटा गाडी आपसमा ठोक्किए, तीन जना घाइते

शुक्रबार बिहान भक्तपुरमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका छन् । सूर्यविनायक नगरपालिका-९ स्थित नलिनचोकमा भएको दुर्घटनामा तीन जना घाइते प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीका अनुसार घाइते हुनेहरू सबै ट्रकमा सवार भएकाहरु हुन् । उनीहरूको डा ईवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको कसैको हात वा खुट्टामा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरी निरीक्षक जिसीले बताए ।

बिहान पौने ८ बजे जगाती जाँदै गरेको प्रदेश नम्बर ३-०१-००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठक्किएका थिए । ती सवारीसाधन ठक्कर खाएपछि छेउमा रहेका अन्य सवारीसाधनमा पनि ठोक्किन पुगेका हुन् ।

प्रदेश ३-०१-०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्कार्पिओ गाडीमा पनि ठोक्किन पुगेको हो । स्कार्पिओ गाडी पार्किङमा राखिएको थियो । ती दुवै सवारीसाधनमा पनि सामान्य क्षति पुगेको छ।

दुर्घटनाको कारण नखुलेको र सवारीसाधन चारै वटा प्रहरीले नियन्त्रणमा लिएको छ । यससम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार