थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

'अबको एक महिना कोरोना संक्रमणदर उच्च हुने विज्ञहरुको चेतावनी'

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् ।यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार