‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमको साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

८ जनाविरूद्ध मुद्दा

मधेश प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका लागि किनेको साइकलमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बुधबार काठमाडौंस्थित विशेष अदालतमा प्रदेश सचिव यामप्रसाद भुसालसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

मधेश प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान सुरू गरेको थियो।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियानअन्तर्गत छात्राहरुलाई साइकल दिने अभियान सञ्चालन गरेका थिए। साइकल खरिदमा अनियमितता भएको सूचनापछि केही समयअघि आयोगको टोलीले मुख्य मन्त्रीको कार्यालयमा छापासमेत मारेको थियो।

आयोगले मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल, शाखा अधिकृत राम स्वार्थ महतो, खरिदार जित मोहन कुमार दास र ओम सत्य साई प्रालिकी प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुसँग जनही १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो दाबी गर्दै हदैसम्मको सजायको माग आयोगले गरेको छ।

प्रेस विज्ञप्ति
प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, साविक प्रदेश नं.२, हाल मधेश प्रदेश जनकपुरधाम धनुषाले OCMCMS2/NCB/GOODS/077/78-06 बोलपत्रबाट लेडिज साइकल खरिद गर्दा अनियमितता गरी बदनियतपूर्वक कानून बिपरीतका कार्य गरी प्रदेश सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिएकोले खरिद प्रकृयामा संलग्न देहायका कर्मचारीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:-
(१) वोलपत्र मुल्यांकन समितिका पदाधिकारी/सदस्यहरु उप-सचिव दिलिप कुमार प्रधान (अध्यक्ष), अधिकृत आठौं सुरेन्द्र कुमार कर्ण, (सदस्य-सचिव), सह-लेखापाल राजाराम मण्डल (सदस्य) बोलपत्र मुल्यांकन समितिमा रही दोस्रो कम अंक (Second Lowest ) कवोल गर्नेलाई योग्यता सम्बन्धी मापदण्ड नपुग्दासमेत बदनियतपूर्वक छनौटका लागि सिफारिस गरी वोलपत्र मुल्यांकन गरी प्रतिवेदन पेश गर्दा गलत मनसायले बदनियतपूर्ण तवरबाट गलत प्रतिवेदन दिएको पाइएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) अनुसारको कसुर भएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद सजाय र जरीवाना गर्ने मागदाबी लिइएको छ ।
(२) सि.डि.ई. भगवान झाले वोलपत्र मुल्यांकन समितिको सदस्यको हैसियतमा रही निजले बोलपत्र मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्दा गलत मनसायले बदनियतपूर्ण तवरबाट गलत प्रतिवेदन दिएको पाइएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उप-दफा (२) अनुसारको कसुर भएको हुँदा निज भगवान झालाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद सजाय र जरीवाना हुन एवं निजले आपूर्तिकर्तासंग खरिद सम्झौता गर्दा आफूलाई प्रत्यायोजित नै नभएको अधिकारको प्रयोग गरेको देखिएकोले निजले वदनियतपूर्ण तवरबाट आफूले नपाएको अधिकार पाएँ भनी खरिद सम्झौता गर्ने कार्य गरी निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ अनुसार समेत थप कसुर गरेको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिइएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार