नागरिकता विधेयक परिमार्जन गर्नुपर्ने माग

देशभक्त नागरिक समूहले संघीय संसदबाट पारित भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन विधेयक–२०७९ परिमार्जनको माग गरेको छ । विधेयकमा भएका कतिपय प्रावधान देशको हितविपरीत रहेको उक्त समूहको दाबी छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिकता विधेयकलाई परिमार्जनको लागि पुनर्विचार गरियोस् भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको पनि उक्त समूहले जानकारी दिएको छ ।

नेकपा (माओवादी केन्द्र)का पूर्व पोलिटब्युरो सदस्य नारायण शर्माले अहिले आएको नागरिकता विधेयकलाई चरम राष्ट्रघातीको संज्ञा दिए । सरकारले विधेयक ल्याएर राष्ट्रको नाम निसान नै नष्ट गर्न खोजेको उनको टिप्पणी छ । यसको सबैले विरोध गर्दै जानुपर्ने उनको भनाई थियो ।

यस्तै अधिवक्ता स्वागत नेपालले खुला सीमा रहेसम्म र विशाल नेपाल कायम नभएसम्म नागरिकताको सवाल यसै गरी उठिरहने टिप्पणी गरेका छन् ।

नागरिकतासम्बन्धी विद्यमान समस्या कायमै रहे देशको विकास र समृद्धिको बारेमा सोच्न नसकिने उनको भनाई थियो । अन्तर्राष्ट्रिय अदालतसम्म अन्तर्राष्ट्रिय कानुनबमोजिम विशाल नेपालको मुद्दा लान र प्राप्त गर्न सकिन्छ भन्ने आधार र प्रमाणसहित सर्वोच्च अदालतबाट वकिलहरूको समूहले कारण देखाउ आदेश जारी गराएको पनि उनले स्मरण गराए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार