प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारवाहीको माग गर्दै कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस संसदीय दलले दलको बुधबारको बैठकको निर्णयानुसार आज आयोगलाई पत्र लेखी निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जोकोहीलाई कारवाहीका लागि अनुरोध गरिएको जनाइएको छ ।

कांग्रेस संसदीय दलले प्रधानमन्त्रीले नेकपा (एमाले)का अध्यक्षको हैसियतले र मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारका पक्षमा मत मागेको आरोप लगाउँदै निर्वाचन आचारसंहिता पालना गर्नु सबैको साझा कर्तव्य भएकोे र स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको स्मरण गराएको छ ।

‘निर्वाचन आचार संहिता पालना गर्नु हामी सबैको साझा कर्तव्य हो र स्वतन्त्र स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । आचारसंहिताविपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई विजय गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्तविपरीत भएको छ’, उजुरीमा भनिएको छ ।

वाग्मती प्रदेशमा राष्ट्रियसभाको रिक्त एक सदस्यका लागि आज मतदान हुँदैछ । निर्वाचन आचारसंहिताले मतदान हुनुपूर्व ४८ घण्टालाई मौन अवधिको समय तोेकेको छ । सो अवधिमा निर्वाचन प्रचारप्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार