वीरगन्जकी ९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना

वीरगन्ज महानगरपालिकाकी ९१ वर्षीया उपमेयर शान्ति कार्कीले कोरोना जितेकी छन् । दुई साता अघि कोरोना संक्रमण पुष्टि भएकी उनी महानगरले नै चलाएको कोभिड अस्पतालमा सोही दिन भर्ना भएकी थिइन् । उनी उदघाटनकै दिन पहिलो कोभिड संक्रमित भई उपचारार्थ भर्ना भएकी थिइन् । बुधबार स्वाव परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज बिहान डिस्चार्ज गरिएको मेयर विजय कुमार सरावगीले बताए ।

उपमेयर कार्कीलाई लिन मेयर सरावगी र प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला कोभिड अस्पताल पुगेका थिए । मयेर सरावगीले कार्कीलाई उच्च मनोबलका साथ कोभिड १९ जितेमा बधाई दिएका छन् ।

कार्की २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । कार्की महानगरको उपमेयर निर्वाचित हुने सबैभन्दा बढी उमेरकी व्यक्ति हुन् । अविवाहित उनी कांग्रेस पर्साकी उपसभापति, वीरगंज नगरकी सभापति र नेपाल महिला संघको केन्द्रीय सदस्य भइसकेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार