अवैध मुद्रा कारोबार गर्ने ५ जना पक्राउ

सुर्खेत प्रहरीले अवैध मुद्रा कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगाबाट ५ जना मुद्रा कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–३ आग्रिगाउँका २३ वर्षीया समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १० वर्षीया मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीया निमबहादुर विक र सोही ठाउँका ३३ वर्षीया रत्नबहादुर नेपाली रहेका छन् । यस्तै कशुे गाउँपालिका –५ खुर्पूका ३२ वर्षीया शान्तबहादुर वादी पनि पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘उनीहरुले भेरीगंगा नगरपालिका–१२ देउती टोलमा रहेको एक नास्ता पसलमा अवैध मुद्रा सम्बन्धी कारोबार गरिरहेको गोप्य सूचना प्रहरीलाई आएको थियो,’प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेले भने,‘त्यसपछि यस कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापा हानेको हो ।’

प्रहरीले उनीहरुको साथबाट छालाको मुद्रा जस्तो देखिने ११११ लेखिएको बस्तु फेला पारेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार