साफ यू–२० च्याम्पियनसिप : भारतको भविष्य नेपालको हातमा

नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भुवनेश्वरस्थित कालिंगा स्टेडियममा श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो।

नेपालका लागि कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे। पहिलो हाफमा खेल गोलरहित बराबरीमा रोकिएको थियो।

नेपालले ५८ औँ मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता लियो। अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरेका हुन्।

खेलको ६५ औँ मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए। त्यसपछि खेलको ८४ औँ मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३–० को जित दिलाएका हुन्।

अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो जितसँगै २ खेलमा ६ अंक जोडेको छ। यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो।

श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो। च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ।

प्रतियोगिताको समिकरण हेर्दा अब भारत फाइनल पुग्ने वा नपुग्ने छिनोफानो नेपालकै हातमा रहेको छ । नेपालले समूह चरणको अर्को खेलमा ३१ जुलाईमा भारतको सामना गर्नेछ । उक्त खेलमा भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । यो मात्र होइन नेपालको जितले भारतको फाइनल पुग्ने सम्भावना पनि बन्द हुनेछ । कारण अन्य २ खेलमा भारतले समान ६ अंक जोडेपनि हेड टु हेडमा बंगलादेश अगाडि छ ।

नेपाल र भारतको खेल बराबरी भएको अवस्थामा भने नेपाल फाइनल पुग्ने सम्भावना बलियो बन्नेछ । त्यसो भएको खण्डमा भारतले आफ्नो र अन्य टोलीको अर्को नतिजा कुर्नुपर्ने हुन्छ । नेपाल वा बंगलादेशले अर्को खेल जितेमा भारतको फाइनल पुग्ने सम्भावना सकिनेछ ।

भारतले नेपाललाई पराजित गरेको अवस्थामा भने नेपाल र बंगलादेशको खेल सेमिफाइनल सरहको हुनेछ । फाइनल समिकरणका लागि अन्य खेलको नतिजा पनि हेर्नुपर्ने हुन्छ ।

अहिलेको स्थितिमा नेपालको २ खेलबाट ६ अंकसाथ अंक तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेको छ । गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार