चौरी गोठालाले पत्ता लगाए आकाशे ताल

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका–१ मा चौरी गोठालाहरूले आकाशे ताल पत्ता लगाएका छन् ।मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७ सय मिटरको उचाइमा आकाशे ताल गोठालाले पत्ता लगाएका हुन् ।

मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष अर्जुनकुमार महतारासहितको टोली पुगेको हो ।चौरी हराउँदा खोज्दै जाने क्रममा चौरीपालक गोठालाले ताल भेटेका हुन् । आकाश जस्तो रङ भएकाले त्यसलाई आकाशे ताल भनिएको हो ।

तालको शिरमा दूध कुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ । निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महताराले बताए ।

सात वर्षअघि चौरीपालक गोठालाहरूले नै चार हजार ३०० मिटरको उचाइमा हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली तालसमेत पत्ता लगाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार