संसदीय छानबिन समितिको बैठक अपराह्न ४ बजे बस्ने

काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज विहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ ।

‘केही विषय प्राविधिक भएकोले फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो,’ बैठकबाट बाहिरिएपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले भने, ‘बेलुका चार बजे बसेर उहाँहरुलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’

फरेन्सिक रिपोर्टमा गत जेठ १४ गतेकै भिडियो छ कि छैन भन्ने विषयमा भने अहिले आफूले भन्न नमिल्ने अर्यालले बताए । आर्थिक वर्ष २०७९– ८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ । सो दिनको सीसीटीभी फुटेज डिलिट भएको जवाफ मन्त्रालयले दिएपछि संसदीय समितिले रिकभरका लागि प्रहरीसँग सहयोग लिएको थियो ।

बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषय सार्वजनिक भएपछि सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार