साफ यू–२० : माल्दिभ्समाथि नेपालको सानदार जित

भुवनेश्वर । नेपालले साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको हो ।

नेपाललाई जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।

कप्तान आयुष घलानको फ्रि(किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।

माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिसले गोल गरे ।त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार