महान्यायाधिवक्ता कार्यालयका उपसचिवले कुटे संसद् सचिवालयका ड्राइभर

काठमाडौँ – महान्यायाधिवक्ता कार्यालयका उपसचिव बुद्धि श्रेष्ठले संसद् सचिवालयका ड्राइभर हरिराम रुपाखेतीलाई कुटेका छन् । सामान्य भनाभनमा आइतबार श्रेष्ठले ड्राइभर रूपाखेतीमाथि हातपात गरेका हुन् ।

संसद्‌ सचिवालयका सवारी व्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले ड्राइभरले असुरक्षित महसुस गरेको भन्दै दुई दिनदेखि कर्मचारी बोक्ने गाडी नचलाउँदा समस्या भएको बताए । उनका अनुसार ट्रेड युनियनसँग पनि छलफल भएको छ ।

पीडित ड्राइभर रुपाखेती भन्छन्, ‘उहाँ कहाँबाट चढ्नु भो थाहा भएन । यहाँ (सिंहदरबार गेट) आइपुगेपछि म चढ्ने बेलामा किन अगाडि बढाएको भन्दै निहुँ खोजे । त्यतिबेला गाडीमा ३–४ जना हुनुहुन्थ्यो । बढी हुन्छ्स् भन्दै कुट्नु भो । कुट्न थालेपछि अरुले गइहाल्नुस भनेर उहाँ (उपसचिव)लाई भगाइदिए । प्रहरीले पनि देखे, केही गरेनन् । के भो भन्दै ? मलाई नै सोधे । हामी साना मान्छेलाई यस्तै हुँदो रहेछ ।’ ड्राइभर रुपाखेती संसद्‌ सचिवालयमा १० वर्षदेखि कार्यरत छन् ।

संसद्‌ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सचिवालयका ड्राइभरलाई महान्यायाधिवक्ताको कार्यालयका उपसचिव श्रेष्ठले थप्पड हानेको उल्लेख गर्दै कानुनी प्रक्रियामा जाने तयारी गरिएको बताए ।

‘बस चढ्न रोक्दा ठाउँमा रोकेनन् भनेर त्यही गाडीमा चढेर आएर झर्ने बेला ड्राइभरलाई थप्पड हानेर हिँडेछन्,’ प्रवक्ता पाण्डेले भने, ‘अब थप्पड हान्‍ने उपसचिवविरुद्ध प्रक्रियामा जान्छौं । प्रहरी उजुरी दिने तयारी गर्दैछौँ ।’

ड्राइभर रुपाखेतीले ती उपसचिव श्रेष्ठले आफूलाई धम्की दिएको भनी गाडी चलाउन छाडेका छन् । ‘गाडी लिएर आइस भने सल्लाघारीमा मान्छे लाएर पिटाउँछु भनेका छन्, कसरी गाडी चलाउनू ?’ ड्राइभर रुपाखेतीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार