बागलुङको झिम्पामा १० शय्याको अस्पताल बन्ने

बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा आधारभूत अस्पतालको निर्माण शुरु भएको छ। केन्द्र सरकारको सहयोगमा निसीखोलामा आधारभूत अस्पताल बन्न लागेको हो।

अस्पताल निर्माण २०८० पुसमा सक्ने गरि बनाउन थालिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए।गाउँपालिकाले १० करोड ९४ लाखको इस्टमेट गरेकोमा हिन्दुङ एसी आइएस जेभी कन्ट्रक्सनले ८ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरि जिम्मा लिएको गौतमको भनाई छ। अस्पताल १० शय्याको निर्माण हुने उनले बताए ।

अस्पतालको लागत ठूलो भएको हुँदा निर्माण समय लामो भएको उनको भनाई छ। केन्द्र सरकारले कार्य प्रगतिको आधारमा बजेट दिने गौतमले बताए। भवन निर्माणका लागि गाउँपालिकाले केही समयअगाडि नै ८ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो। अस्पताल बनाउन ७ रोपनी २ आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ।

स्थानीयले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पताल शिलान्यास गरेको थियो तर निर्माण भने बल्ल शुरु भएको छ। अस्पताल विशेषगरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ।

झिम्पा गाउँको फेदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा दिन थालेपछि निसीखोलाका हजारौँ नागरिकलाई उपचारमा सहज हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए। उनले वर्षौंदेखि यहाँका बासिन्दा सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माणपश्चात गाउँ ठाउँबाटै सहज सेवा लिन सक्ने बताउँछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार