भीम रावलकाे प्रश्न : सरकारले कहिलेदेखि श्रवणशक्ति गुमायो ?

'एसपिपीको सम्बन्धमा अमेरिकालाई पत्र नलेखेकोमा आपत्ति'

काठमाडौँ – नेकपा एमालेका सांसद भीम रावलले एसपिपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले एसपिपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताए।

सांसद रावलले भने, ‘एसपिपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनका लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो। सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने, सभामुखले दिएको निर्देशन पनि नसुन्ने। होइन, सरकारले कहिलेदेखि कान सुन्नलाई श्रवणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन ? म त्यो रोष्टममा उभिनुको तात्पर्य त अहिले खुल्यो होला नि। एक महिना भयो सरकारले गरेको निर्णय। सभामुखले दिएको निर्देशन पनि नसुन्ने। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कुरा पनि नसुन्ने। रोष्टमबाट बोल्दा अलिकति सुन्छ कि भनेको, कानको उपचार त राम्ररी गर्नुपर्ने। नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ।’

उनले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार