अन्तर्घातीहरूका कारण कांग्रेस खुम्चन पुग्यो, उनीहरूलाई दण्डित गर्नुपर्छः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्गठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् ।

कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको दाबी गरे ।

‘पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भयो, आफैँभित्रको अन्तर्घातले खुम्चिन पुगेका छौँ, यसमा समीक्षा हुन जरुरी छ, यसमा आत्मनिरीक्षण हुन जरुरी छ,’ पौडेलले भने, ‘यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हुँदैन, ढाकछोप गर्दै जाँदा गल्ती दोहोरिँदै जान्छ ।’

अन्तर्घातीलाई दण्डित गर्नुपर्ने पौडेलले बताए । ‘अन्तर्घाती कुनै न कुनै रूपबाट दण्डित हुनुपर्छ, पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ,’ उनले भने ।

पैसावालाहरूको बोलाबाला बढ्दै जाने र निष्ठावान कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने पौडेलको भनाइ थियो । ‘यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरामा बढ्दै जान्छ,’ उनले भने ।

गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै उनले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गरिएको टिप्पणी गरे ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन गरेर लोकप्रिय काम नगर्ने हो भने सरकारमा बसिरहनुको पनि अर्थ नहुने बताए । चुनावमा गठबन्धन नगरी बहुमत ल्याउने हो भने लोकप्रिय काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार