ओमिक्रोनको नयाँ भाइरस कति घातक ?

नेपालमा कोभिड पुष्टि हुने दर फेरि बढिरहेको बेला ओमिक्रोन कोरोनाभाइरसको नयाँ उपप्रकार पनि फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त कोरोनाभाइरस निकै सङ्क्रामक भएको बताइन्छ।

धुलिखेल अस्पतालस्थित प्रयोगशालामा जीन सीक्वन्सिङ गर्दा ओमिक्रोन बीए फाइभ भेरिअन्टको नयाँ उपप्रकार बीएफ वन नेपालमा पनि देखा फैलिएको पुष्टि भएको हो।

ओमिक्रोनको यो उपप्रकार पहिलो पटक गत जुन महिनामा मात्र पहिचान भएको थियो। धुलिखेल अस्पतालको अनुसन्धान प्रयोगशाला प्रमुख एवं सङ्क्रामक रोगविज्ञ डा. राजीव श्रेष्ठका अनुसार बीएफ वन ओमिक्रोन बीए फाइफभन्दा झन्डै ३५ प्रतिशत बढी सङ्क्रामक हुन्छ।

अहिलेसम्म बनेका कोभिड खोपहरू उक्त कोरोनाभाइरसले गराउने सङ्क्रमणविरुद्ध कति प्रभावकारी छन् भन्ने कुरा यकिन नभएको डा। श्रेष्ठले बताए। यसबारे भर्खर अध्ययन सुरु भएको उनको भनाइ छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएओले पनि बीएफ वनसहितका ओमिक्रोनका अन्य प्रकारहरूलाई भेरिअन्ट अफ कन्सर्न अर्थात् चिन्ताजनक भेरिअन्टको रूपमा सूचीकृत गरेको छ।

नयाँ उपप्रकार पहिचान भए पनि अहिले ओमिक्रोन बीए फाइभबाट सङ्क्रमित भएका बिरामीको सङ्ख्या सर्वाधिक भएको विज्ञहरू बताउँछन्। दक्षिण अफ्रिकाबाट फैलिन थालेको यो सब-भेरिअन्टले युरोप र अमेरिकामा सबैभन्दा बढी सङ्क्रमण गराउन सक्ने ठानिएको थियो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा=शेरबहादुर पुनका अनुसार यो धेरै कडा किसिमको हुँदैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार