मौद्रिक नीति के हो, बजेटभन्दा कसरी फरक छ ?

नेपाल राष्ट्र बैङ्कले शुक्रवार अपराह्ण आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। प्रत्येक वर्ष बजेट सार्वजनिक भएको केही समयपश्चात् केन्द्रीय ब्याङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ।

मौद्रिक नीति सार्वजनिक गर्दै उक्त नीति सजगतापूर्वक कसिलो बनाइएको केन्द्रीय ब्याङ्कका गभर्नरले बताएका छन्। राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य, रुस-युक्रेन युद्ध, इन्धनको मूल्यवृद्धि तथा आयात एवम् विप्रेषण आम्दानीको प्रवृत्तिलाई ख्याल गरेर मौद्रिक नीति बनाइएको बताए।

उनले भने, ‘मूल्य तथा बाह्य क्षेत्रमा परेको चाप केही समयसम्म कायम नै रहने देखिन्छ। यसर्थ उक्त परिदृश्य र आर्थिक वृद्धिको लक्ष्यलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशालाई सजगता पूर्वक ढङ्गले कसिलो राखिएको छ।’

अहिले नेपालमा खासगरी महँगी दर करिब ८ प्रतिशत पुगेको र विदेशी मुद्राको सञ्चितीमा पनि चाप परेको देखिएको छ।केन्द्रीय ब्याङ्कले अन्य ब्याङ्कलाई उपलब्ध गराउने कर्जाको ब्याज दर डेढ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुर्‌याइएको छ। आयात गर्ने काममा कर्जा कम जाओस् भन्ने आफ्नो मनसाय रहेको ब्याङ्कका अधिकारीले बताएका छन्।

के हो मौद्रिक नीतिर ?
कुनै पनि राष्ट्रका लागि सबैभन्दा महत्त्वपूर्ण स्रोतमा वित्तीय स्रोत पर्छ।

त्यो स्रोतलाई मुलुकको उत्पादन, रोजगारी अनि वित्तीय स्थायित्व कायम गरेर भुक्तानी प्रणालीलाई पनि बलियो बनाउने उद्देश्य लिएर निर्माण गरिने नीति नै मौद्रिक नीति रहेको नेपाल राष्ट्र बैङ्कका भूतपूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन्।

‘यसले ब्याज दरको कुरा गर्छ र विनिमय दरको विषयमा पनि केही कुरा गर्छ। सबै कुरालाई सञ्चालन गरेर अर्थतन्त्र सहज रूपमा सञ्चालन गर्नको निमित्त अनुकूल वातावरण बनाइदिने लक्ष्य मौद्रिक नीतिको हो,’ उनले भने।

कसरी पर्छ प्रभाव ?
अर्थविद् केशव आचार्यका अनुसार सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ।

त्यसले गर्दा केन्द्रीय ब्याङ्कले सार्वजनिक गर्ने यो नीतिले परोक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ।
अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने जानकारहरूको भनाइ छ।

कुनै व्यक्तिले ब्याङ्कबाट ऋण लिए, कारोबार गरे वा बचत ब्याङ्कमा निक्षेप गर्दा तय हुने ब्याज दर सबैमा मौद्रिक नीतिको प्रभाव हुन्छ।त्यस्तै मुद्रास्फीति अर्थात्‌ बजार महँगीमा पनि मौद्रिक नीतिको भूमिका उल्लेख रहने मानिन्छ।

मौद्रिक नीति बजेटभन्दा कसरी फरक ?
मौद्रिक नीतिले ब्याज दर सम्बन्धित कुराहरूलाई दृष्टिगत गर्दै नीतिनिर्माण गर्छ भने बजेटको उद्देश्य राजस्व वृद्धि तर्फ केन्द्रित हुन्छ।

बजेटमार्फत् सरकारले लक्ष्यअनुसार खर्च गरेर नतिजा प्राप्त गर्नेगरी नीति सार्वजनिक गर्छ।अर्थ राजनीतिक दस्तावेजका रूपमा समेत हेरिने हुँदा बजेटमा लोकप्रियवादी कार्यक्रमहरू पनि समावेश गरिएको हुन्छ।बजार महँगीमा पनि मौद्रिक नीतिको भूमिका उल्लेख रहने मानिन्छ

त्यसता कार्यक्रममा हुने खर्चले मुद्राको मूल्य कायम राख्न चुनौतीपूर्ण हुन जान्छ।वस्तु र सेवा स्थिर रहने तर रकमको उपलब्धता सहज भएर खर्च गर्न सक्ने अवस्था हुँदा बजारमा मूल्य वृद्धि हुन जान्छ।

मुद्राको मूल्य कायम गर्ने केन्द्रीय ब्याङ्कको भूमिका रहने हुँदा उसले मौद्रिक नीतिमार्फत् बजारलाई सन्तुलनमा राख्नेगरी नीति सार्वजनिक गर्ने बताइन्छ।सरकारले वित्तनीतिमार्फत् सर्वसाधारण जनतासँग प्रत्यक्ष जोडिएका विषयवस्तुहरू समेत उठान गरेको हुन्छ। बजेट र अर्थतन्त्रको समष्टिगत अवस्था हेरेर चालु आर्थिक वर्षका लागि तुलनात्मक रूपमा कडा मौद्रिक नीति सार्वजनिक हुने आकलन गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार