पर्यटनमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेट

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ।

मन्त्री श्रेष्ठले राजदूत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई उचाइमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे। नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहिआएको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुबै देशबीच सहकार्यका धेरै सम्भावना रहेको बताए।

मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन राजदूत श्रीवास्तवसँग प्रस्ताव गरे। नयाँ हवाई प्रवेश विन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ।

राजदूत श्रीवास्तवले नयाँ हवाई प्रवेश विन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार