नागरिकता विधेयकको सम्बन्धमा जनतासँग छलफल गर्नुपर्छ : प्रेम सुवाल

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताए। सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको जिकिर गरे।

उनले नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने समेत बताए । शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता लिनुपर्ने र परीक्षा उत्तिर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताएका हुन्।

उनले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने उल्लेख गरे। नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उनले बताए।

‘नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोजेको विषय देशको हितमा छैन । सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ । र यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ’ उनले भने।

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उनको भनाई छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार