सत्ता गठबन्धनकाे बैठक : नागरिकता विधेयक फास्ट ट्रयाकमा पारित गरिने

माओवादी केन्द्रले छोड्यो अडान, जनमोर्चाको असहमति

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका विषयमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धन सबै नेताहरु सहमत भएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताए । ‘नागरिकता विद्येयक पारित गर्ने विषयमा गठबन्धनका सबै नेताहरुसँग छलफल भयो । त्यसमा सबैको सहमत हुनुहुन्छ’ पौडेलले भनिन्, ‘हामीले त्यसमा सहमत जनाएका छैनौ । त्यसमा समर्थन छैन ।’

राष्ट्रिय जनमोर्चा बाहेक गठबन्धनका शीर्ष नेताहरु नागरिकता विद्येयकमा सहमत जनाएका हुन् । बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरुको समेत सहभागिता थियो ।

यता नेकपा माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताको विषयमा राख्दै आएको अडान छाडेको छ । प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढाउन सक्छन् । तर, यसलाई खुकुलो प्रावधान भन्दै माओवादी केन्द्रले निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने व्यवस्थाका लागि लामो समयदेखि अडान लिइरहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार