प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक बस्दै

विराटनगर – प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय छलफल हुँदैछ। प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा सर्वदलीय छलफल हुन लागेको हो ।

सर्वदलीय बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए। प्रदेश नामकरणका विषयमा यस अघि प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईको आव्हानमा दलहरुबीच दुई पटक छलफल भएको थियो। तर, ती छलफलहरुबाट नामकरणका लागि साझा धारणा बन्न सकेको छैन।

दलहरुले प्रदेशको नामको सवालमा छुट्टाछुट्टै प्रस्ताव गरेको र एक अर्काको प्रस्तावमा सहमति नबनेको अवस्थामा सभामुखले सर्वदलीय बैठक आव्हान गरेका हुन्। आजको बैठकमा दलहरुले नामको प्रस्तावमा आफ्ना धारणाहरु राख्ने र सहमतिको खोजी हुने बताइएको छ।

प्रदेशसभा गठन भएको चार वर्ष ६ महिना बितिसक्दा पनि प्रदेश १ को नामकरण हुन सकेको छैन। नामकरणको प्रस्ताव अगाडि बढाउने जिम्मेवारी प्रदेशसभाको भएपनि सभामुखले पहिलो पटक नामका विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका हुन। यस अघि उनले अनौपचारिक रुपमासमेत दलहरुसँग छलफल गरेका छन्।

प्रदेश १ को नाम पहिचानको आधारमा राख्नु पर्ने र भौगोलिक आधारमा राख्नुपर्ने दुईखालका धारणाहरु सार्वजनिक भइरहेका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यस अघि मुख्यमन्त्री राईको पहलमा भएको छलफलमा प्रदेशको नाम ‘कोशी’ राख्नु पर्ने प्रस्ताव गरेको थियो। एमाले पोलिटब्युरो सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले एमालेले कोशी नाम प्रस्ताव गरेको तर सहमतिका हुने अवस्थामा लचिलो भएर प्रस्तुत हुने बताउँदै आएका छन‍्।

मुख्यमन्त्री राई र सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, संघीय लिम्बुवान राष्ट्रिय मञ्च र जनता समाजवादी पार्टी भने नाममा पहिचान झल्किनु पर्ने पक्षमा छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार