आज मौद्रिक नीति आउँदै, त्यसअघि सञ्चालक समितिको बैठक

कर्जा विस्तार नियन्त्रणमुखी गर्ने तयारी

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९-८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए । उनका अनुसार शुक्रबार नै मौद्रिक नीति आउने सम्भावना छ ।

गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।

गत आर्थिक वर्षमा १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य तय गरेपनि बैंक तथा वित्तीय संस्थाले करिब १२ प्रतिशत मात्र कर्जा विस्तार गरेका छन् । तरलता अभाव भएकै कारण माग हुँदाहुँदै पनि बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार गर्न नसकेका हुन् ।

चालु आर्थिक वर्षका लागि भने राष्ट्र बैंकले निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको लक्ष्य पनि बढीमा १५ प्रतिशतभन्दा कमको तय गर्ने बताइएको छ । रियल इस्टेट, महँगा निजी सवारीसाधन खरिदलगायत क्षेत्रमा प्रवाह हुने कर्जामा केही कडाइ गरी प्राथमिकता प्राप्त र उत्पादनमूलक क्षेत्रमा धेरै कर्जा प्रवाह गर्ने खालको नीतिको तयारी पनि राष्ट्र बैंकले गरेको छ ।

यस्तै, मर्जर तथा एक्विजिसन प्रक्रियामा जाने बैंक तथा वित्तीय संस्थालाई हाल दिँदै आइएका सुविधाहरूबारे चालु आर्थिक वर्षमा के गर्ने भन्नेबारेमा छलफल भइरहेको छ । यसअघि राष्ट्र बैंकले बैंकका अध्यक्षहरूलाई डाकेर असारपछि मर्जरको सुविधा नपाइने संकेत गरिसकेका छन् । यसकारण पनि नयाँ मौद्रिक नीतिमा ती सुविधाले निरन्तरता नपाउने धेरैको आकलन छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार