छानबिन समितिमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको ३ घण्टा बयान

संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार बिहान करिब ३ घण्टा बयान लिएको छ । बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म समितिले पूर्वअर्थमन्त्री शर्मासँग बयान लिएको हो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा शर्मासँग संसदीय विशेष छानबिन समितिले बयान लिएको हो ।

बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए ।संसदीय छानविन विशेष समितिमा बिहिबार उपस्थित भएर शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नै नभएको दाबी गरेका हुन्।

समितिलाई दिएको बयानमा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नातलाई इन्कार गरेका छन् । शर्माले यसअघि संसदलगायत ठाउँमा बोलिरहेका अभिव्यक्ति नै छानबिन समितिमा पनि दोहोर्‍याएका हुन् ।

अनधिकृत व्यक्तिको प्रवेशबारे आफ्नो कुरा पत्यार नलागे सुरक्षाकर्मी र मर्यादापालकसँग सोध्न सकिने उनको भनाई छ।

त्यस्तै उनले बयानमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी पनि आफूलाई नहुने बताएका छन् । शर्माले बयानका क्रममा भनेका छन्, ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन, पसेको भए थाहा भइहाल्थ्यो नि । त्यहाँ सुरक्षाकर्मी हुन्छन् । सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ रु के हुन्छ त्यो बारे मलाइ केही जानकारी हुँदैन ।’

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा संसदीय विशेष छानबिन समितिले बिहीबार पूर्वअर्थमन्त्री शर्मासँग बयान लिएको हो ।

आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने आरोपबारे ११ सदस्यीय संसदीय समितिले छानविन गर्दै आएको छ । अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेका खबर आएपछि शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए।

सोही क्रममा बयान लिन आज बिहानको बैठकमा निवर्तमान मन्त्री शर्मालाई बोलाइएको थियो । बयानपछि उनी पत्रकारहरुले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार