जनार्दन शर्माको बयान : बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैनन्, सीसीटीभीबारे थाहा छैन्

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् ।  संसदीय छानविन विशेष समितिमा बिहिबार उपस्थित भएर शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नै नभएको दाबी गरेका हुन्।

समितिलाई दिएको बयानमा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नातलाई इन्कार गरेका छन् । शर्माले यसअघि संसदलगायत ठाउँमा बोलिरहेका अभिव्यक्ति नै छानबिन समितिमा पनि दोहोर्‍याएका हुन् ।

अनधिकृत व्यक्तिको प्रवेशबारे आफ्नो कुरा पत्यार नलागे सुरक्षाकर्मी र मर्यादापालकसँग सोध्न सकिने उनको भनाई छ। ‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशनै भएको छैन। तपाईँहरूलाई मेरो विश्वास छैन भने सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपूछ गर्नसक्नुहन्छ,’ बैठकमा उनले भनेका छन्।

त्यस्तै उनले बयानमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी पनि आफूलाई नहुने बताएका छन् । शर्माले बयानका क्रममा भनेका छन्, ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन, पसेको भए थाहा भइहाल्थ्यो नि । त्यहाँ सुरक्षाकर्मी हुन्छन् । सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ ? के हुन्छ त्यो बारे मलाइ केही जानकारी हुँदैन ।’

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा संसदीय विशेष छानबिन समितिले बिहीबार पूर्वअर्थमन्त्री शर्मासँग बयान लिएको हो । बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग समितिले छलफल गरेको थियो ।

अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेका खबर आएपछि शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको थियो । समितिले बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका १० अधिकारीसँग छलफल गरिसकेको छ । समितिको १० दिनको समयसीमा बिहीबार सकिँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार