करिब ५० प्रतिशत बीमा कम्पनीहरुबीच मर्जर सम्झौता, कुन-कुन कम्पनी मर्ज हुँदैछन् ?

मर्जर भंग गर्न नपाउने

पछिल्लो समय डेढ दर्जनभन्दा बढी बिमा कम्पनी मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएका छन् । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि पछिल्लो चार महिनामा मात्र डेढ दर्जनभन्दा बढी बिमा कम्पनी मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएका हुन् ।

समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिको नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्ने बताइएको थियो ।

नियामक निकाय बिमा समितिले कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको निर्देशन जारी गरेपछि सुरु भएको मर्जरको यो प्रक्रियामा साउन १ सम्म १९ वटा बिमा कम्पनी सहभागी भएका छन् । ती कम्पनी आपसमा गाभिएर ९ वटा बन्नका लागि बिमा समितिमा आवेदन दिएका छन् ।

तीमध्ये हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सको मर्जर प्रक्रिया पूरा भइसकेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट कारोबार शुरु भएको हो ।कम्पनीले आगामी दिनमा बीमालाई सबैको पहुँचमा पुर्याउने लक्ष्य लिएको छ । मर्जरका लागि बिमा समितिमा आवेदन दिएका बाँकी कम्पनीहरुमध्ये जीवन बिमा ९ वटा र निर्जीबन बिमा कम्पनी ८ वटा रहेका छन् ।   सबै कम्पनीले मर्जरको प्रक्रिया पुरा गर्नका लागि बिमा समितिबाट सैद्धान्तिक सहमति (एलओआई) पाइसकेका छन् ।

१९ कम्पनी मर्जरमा 

हाल नेपालमा १९ वटा जीवन बीमा र २० वटा निर्जीवन बीमा कम्पनीहरु ३९ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । त्यसमध्ये ४८.७२ प्रतिशत अर्थात १९ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेका हुन् ।  हालसम्म १९ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा हस्तारक्षर गरेका छन् । जसमा ८ निर्जीवन र ९ जीवन बीमा कम्पनी रहेका छन् । त्यसमध्ये हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सको मर्जर प्रक्रिया पूरा भइसकेको छ । एक आपसमा मर्जरमा भएपछि दुई कम्पनीले आइतबारबाट एकीकृत कारोबार शुरु गरेका हुन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट कारोबार शुरु भएको हो ।

यस्तै हालसम्म निर्जीवनतर्फ सिद्धार्थ–प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स – लुम्बिनी जनरल, सानिमा इन्स्योरेन्स – जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स – अजोड इन्स्योरेन्सबीच प्रारम्भिक मर्जर सम्झौता भइसकेको छ ।

त्यस्तै जीवनतर्फ प्राइम लाइफ, गुराँस लाइफ र युनियन गाभिँदै छन् । सूर्या लाइफ –ज्योति लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स  र   महालक्ष्मी लाइफ – प्रभु लाइफ मर्जरमा जाने सहमति गरेका छन् ।

बाँकी कम्पनीहरु पनि मर्जरको लागि पार्टनर खोजिरहेका छन् ।  समितिले क्रस होल्डिङ्ग भएका बीमा कम्पनीहरुलाई मर्जर जान जोड दिदै आएको छ । समितिको निर्देशन अनुसार क्रश होलिङ्ग भएका केहि कम्पनीहरुबीच अझै मर्जरमा जाने सम्बन्धमा छलफल भइरहेको छ ।

हाल जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब र निर्जीबन बिमा कम्पनीहरुको १ अर्ब रुपैयाँ छ । पुँजी वृद्धिका लागि कम्पनीहरुले हकप्रद सेयर जारी गर्न पाउँदैनन । बोनस सेयरबाट मात्र पुँजी वृद्धि गर्न नसकिने भएपछि बिमा कम्पनीहरु धमाधम मर्जरको प्रक्रियामा गएका हुन् ।

मर्जर भंग गर्न नपाउने

बीमा कम्पनीहरु धमाधम मर्जर सम्बन्धी सम्झौता गर्दै गर्दा बीमा समितिले मर्जर भंग नमिल्ने व्यवस्था गरेकाे छ । सैद्धान्तिक सहमति प्राप्त गरेका बीमा कम्पनीहरुले मर्जर तथा एक्वीजिसन प्रकृयालाई मनासीव कारण सहित बीमा समितिको स्वीकृति नलिई आफुखुशी भंग गर्न नपाइने व्यवस्था गरेको हो ।

तर बीमा कम्पनीले मानसीव कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा एक्वीजिसन समितिको सहमति सहित निवेदन पेश भएमा बीमा समितिले सैद्धान्तिक सहमति रद्ध गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै समितिले मर्जरमा पश्चात बन्ने बीमा कम्पनीहरुमा न्यूनतम ३० प्रतिशत शेयर स्वामित्व सर्वसाधारणको हुनु पर्ने व्यवस्था गरेको छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार