कोरोना संक्रमणदर उकालो लाग्यो, जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव

साउनभित्र चौथो लहर सुरु हुने विज्ञहरुको चेतावनी

पछिल्लो केही दिन यता नेपालमा कोरोना भाइरसको संक्रमणदर बढ्न थालेको छ । असार महिनामा करिब १० प्रतिशतले कोरोना संक्रमणको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ असारमा संक्रमणदर ०.६४ प्रतिशत थियो । ३१ असारमा आइपुग्दा १० गुणाले बढेकाले नेपालमा कोरोना महामारीको चौथो लहर सुरु भएको मानिएको छ ।शुक्रबार मात्र थप २२९ जनामा संक्रमण पुष्टि भएको छ र संक्रमणदर ६ प्रतिशतभन्दा बढी पुगेको छ ।

यो बिचमा ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टु’ र ‘बीए फाइफ’ बढी सक्रिय रहेको पाइएको छ । एकसाताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरिएका ३२ वटा नुमनामध्ये दुईवटामा ‘बी फाइभ’ पुष्टि भएको थियो । विभिन्न ठाउँको १६ वटा नुमनाको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गरिएको थियो, जसमा चार वटामा ‘बी फाइभ’ पुष्टि भएको छ ।

‘बी फाइभ’ हालसम्मकै संक्रामक मानिन्छ । यो समुदाय स्तरमा पुगिसकेकाले आगामी दिनमा संक्रमण बढाउने जनस्वास्थ्यविदहरू बताउँछन् । भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने मानिसको कोरोना परीक्षण गर्दा पुष्टि हुने दर बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

कोरोनाको नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिन अझ धेरै घातक र जोखिम भएको विज्ञहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा.शेरबहादुर पुन पनि ‘बी फाइभ’ समुदाय स्तरमा घुलमिल गरिरहेको बताउँछन् । ‘अस्पतालमा आएका केही बिरामीलाई सोध्दा घरमा भएका अन्य व्यक्ति पनि उस्तै लक्षण लिएर बसिरहेको पाइएको छ,’ डा. पुनले भने, ‘ओमिक्रोनले तेस्रो लहर ल्याउँदा पनि परिवारका अधिंकाश मानिसलाई संक्रमण भएको थियो ।’

दुई हप्तापछि अस्पतालमा भर्ना बढ्छ

कोरोना संक्रमणको दर यही ढंगले बढ्ने हो भने केही दिनमै अस्पतालमा भर्ना दर बढ्ने विज्ञहरु बताउँछन् । तर अन्य देशको तथ्यांकले ओरजिनल ओमिक्रोनभन्दा सवभेरियन्ट ‘बी फाइभ’ले अस्पताल भर्ना तथा मुत्यु हुने संख्या ५० प्रतिशतले घटेको देखिएको चिकित्सकहरू बताउँछन् ।
यसले ल्याउने सक्ने संकट टार्न सरकारले अस्पतालहरूसँग समन्वय गरेर अक्सिजनको क्षमता कति छ ? जनशक्तिको अवस्था के छ ? कतिसम्म संक्रमित धान्न सक्छन् ? हेरेर आवश्यक तयारी गर्नुपर्ने जनस्वास्थ्यविज्ञहरू सुझाव दिन्छन् ।

संक्रमितको संख्या दैनिक बढिरहँदा पीसीआर परीक्षणको दायरा बढाउन नसकेको डा। मरासिनी बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालनामा आम समुदायमा नै लापरबाही देखिएको शुक्रराज ट्रपिकल अस्पतालका पूर्वनिर्देशक डा. अनुप बास्तोला बताउँछन् । ‘अझै पनि मानिसहरूले कोरोनालाई सामान्य रुपमा लिने गरेका छन् । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नैपर्छ । मास्क अनिवार्य रुपमा लगाउनुपर्छ । मास्क लगाउने विषयलाई सबैले प्रमुख प्राथमिकतामा राख्नुपर्छ,’ डा बास्तोला भन्छन्, ‘संक्रमण बढिरहेकाले सरकारले अझै व्यवस्थित र योजनाबद्ध भएर लाग्नुपर्ने देखिन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार