पशुपतिनाथको जलहरी बनाउँदा करिब १७ किलो सुन हिनामिना

पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ। महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले १०७ किलो ४९० ग्राम सुन राखिएको भनिएकोमा सुन, तामा, धातु, चाँदी र जिङ्कको प्रयोग गरी सुन गायब बनाइएको औँल्याएको छ ।

पशुपति क्षेत्र विकास कोषले जलहरीमा ९६ किलो ५१४ ग्राम सुन प्रयोग भएको र बाँकी १० किलो ९७६ ग्रामको रिङ बनाइएको जनाएको छ । तर, महालेखाको प्रतिवेदनले जलहरीमा एक किलो २४९ ग्राम चाँदी, दुई किलो ८९० ग्राम तामा, १२ किलो ७५० ग्राम जिङ्क मिसावट गरी सुन गायब बनाएको बताएको छ ।

‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको र बाँकी रहेको १० किलो ९७६ ग्राम रिङ बनाइ जलहरीमा लगाएको उल्लेख छ,’ महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, ‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ, जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिणाम रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश भएको छैन।’

सुनमा शुद्धता प्रतिशत समान नरहेको र त्यसमा अन्य धातु तथा रसायनको मिश्रण गरिएको महालेखाले उल्लेख गरेको छ। सुनको जलहरीमा तामा २ किलो ९ सय ९० ग्राम, चाँदी १ किलो २ सय ४९ ग्राम,जिंक १२ किलो ७ सय ५० ग्रामसमेत मिसाइएको र यी सबै धातुसहित उक्त जलहरीको तौल गरी १ सय ७ किलो ४ सय ९० ग्राम सुन कायम गरेकोसमेत महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार