आयल निगमलाई इन्धनमा करबापत समायोजन गरिएको रकम दिने सरकारको निर्णय

सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा करबापत गरिएको समायोजन रकम प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि कर कटौती गरेर उपभोक्तालाई दिएको राहत बराबरको रकम निगमलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत दिने निर्णय गरेको हो ।

यसअघि असार ११ गते सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाउने निर्णय गरेलगत्तै निगमले उपभोक्ताका लागि सो बराबरको मूल्य घटाएको थियो । त्यसअघि पनि ती पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर समायोजन गरिएको थियो ।

कर समायोजनबापतको मूल्य उपभोक्ताका लागि घटाए पनि निगमले सरकारलाई भने पुरानै दरको कर तिर्दै आएको छ । यसले गर्दा भारतीय आयल कर्पोरेसनलाई बुझाउनुपर्ने बक्यौता रकम निगमलाई बढ्दै गएको थियो । करबापतको रकम निगमलाई प्रदान गर्ने आजको मन्त्रिपरिषद् बैठकको निर्णले निगमलाई राहत मिल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार