आज प्रतिनिधि सभामा दुई बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधि सभाका दुई बैठक बस्ने भएका छन्। संयीय संसद् सचिवालयका अनुसार पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक दिउँसो ३ बजे बस्नेछ। पहिलो बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै आजै बस्ने दोस्रो बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्। बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देव गुरूङले उपसभामुखमा पुष्पा भुसाललाई निर्वाचित गरियोस भनि प्रस्ताव पेश गर्नेछन्। उनको प्रस्तावलाई नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले समर्थन गर्ने कार्यूसची रहेको छ।

यस्तै नेकपा एमालेकी सांसद शान्ता चौधरीले उपसभामुखमा विद्या भट्टराईले निर्वाचित गरियोस् भनि प्रस्ताव पेश गर्नेछिन्। उनको प्रस्तावलाई कृष्णभक्त पोखरेलले समर्थन गर्ने कार्यसूची रहेको छ। संसद्‌मा प्रष्ट बहुमत भएकाले सत्तारूढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल उपसभामुख हुने लगभग निश्चित छ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन्। यस्तै एमालेको पक्षमा ९८ जना मात्रै सांसद छन्। उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ। सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन्।

१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिन भन्नेबारे टुंगो लगाएको छैन। लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने बैठकले टुंगो लगाउने बताइन्। ‘हामीले उम्मेदवारी दिएनौं। कसैको समर्थक र प्रस्तावक पनि छैनौं। कसलाई मत दिने भन्ने आजको संसदीय दलको बैठकले टुंगो लगाउँछ’, उनले भनिन्। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।  संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार