हात्तीको दाह्रासहित एकजना पक्राउ

नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी बस्ने २५ वर्षीय रमेश राईलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले विसं २०७८ फागुन २७ गते काठमाडौँमा हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन गरी फरार रहेका राईलाई झापाको खुदुनाबारीबाट आज पक्राउ गरिएको जानकारी दिए । प्रहरीले राईसँग हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन संलग्न झापाका ५८ वर्षीय भक्तिकुमार लिम्बू र झापाकै ४२ वर्षीय अशोक कार्की र पाँचथरका ४३ वर्षीय रमेश सुवेदीलाई यसअघि पक्राउ गरिसकेको छ ।

पक्राउ परेकाबाट प्रहरीले १५।६८ किलोग्राम हात्तीको दाह्रा बरामद गरिसकेको छ । राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार